वीपी बाँचेका भए गणतन्त्रवादी हुन्थे कि राजावादी ?

आफ्नै छोरामा समेत विभाजित बने वीपी
अरुण बराल/टीप्पणी
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरु मंगलबारदेखि वीपी स्मृति दिवस एवं वीपी कोइराला जन्म शताब्दी दिवस मनाउन व्यस्त हुनेछन् । यसैसन्दर्भमा कतिपय राजतन्त्रका पक्षधर विश्लेषकहरुले वीपी कोइरालालाई राजावादीका रुपमा वकालत गर्न थालेका छन् । पञ्चायतकालभरि वीपीलाई ‘अराष्ट्रिय तत्व’ देख्नेहरु पनि यतिबेला वीपीका अनन्य भक्त बन्न थालेका छन् ।
वीपी कोइराला अहिलेसम्म जीवित रहेका भए उनी गणतन्त्रवादी बन्ने थिए या संवैधानिक राजतन्त्रकै पक्षमा वकालत गरिरहन्थे ? यो कुराको अनुमान लगाउनु सहज छैन । तर, वीपीको मुल्यांकनका सन्दर्भमा यो विषय प्रश्न अहिले पेचिलो बनेर अगाडि आएको छ ।
तीसको दशकमा वीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलापको नीति’ लाई लिएर कतिपय राजतन्त्रका पक्षपातीहरु उनको प्रशंसा गर्दैछन् । उनीहरु वीपीको प्रशंसा गर्छन् तर नेपाली कांग्रेस एवं गिरिजाप्रसाद कोइरालालाई तीखो आलोचना गर्छन् । वीपीले ‘राजाको मेरो घाँटी जोडिएको छ’ भनेर राष्ट्रिय मेलमिलापको नीति लिएका बेला बोलेको विषयलाई राजावादीहरुले सापटी लिने गरेका छन् ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस गणतान्त्रिक भएको छ । तर, पुरानो कानून खारेज भएर नयाँ कानून आइसक्दा पनि पुरानै कानूनको दफा टेकेजस्तो गरी राजतन्त्रको वकालत गर्नेहरुले यतिबेला वीपी कोइरालालाई आदर्श बताउँदै कांग्रेसलाई सराप्ने नीति लिएको देखिन्छ ।
राजालाई बम हान्ने को थिए ?
वीपी कोइरालाको बहुआयामिक नीति र विचारको मूल्यांकन गर्दा उनले राजासँग घाँटी जोडेको कुरालाई मात्रै समात्नु एकांगी दृष्टिकोण हुने कतिपयको विश्लेषण छ ।
तत्कालीन राजा महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि ०१८/०१९ सालमा नेपाली कांग्रेसले हतियारवद्ध सशस्त्र संघर्ष थाल्यो । त्यसको एकदशक पछिसम्म अझ भनौं, ०३३ सालको मेलमिलापको नीति लिनुभन्दा अघिसम्म विपीको लाइन भनेको राजतन्त्रविरुद्ध सशस्त्र संघर्षको लाइन थियो । पछि पक्राउ परेर मृत्युदण्डको सजायँ सुनाउने तयारी हुँदा वीपीले सशस्त्र संघर्षको नैतिक जिम्मेवारीसमेत आफैंले लिएका थिए ।
वीपी कोइरालाकै नेतृत्वका रहेको नेपाली कांग्रेसका कार्यकर्ताले बिराटनगर, जनकपुरलगायतका शहरमा तत्कालीन राजामाथि बम प्रहार गरेर मार्ने प्रयास पनि गरेकै हुन् । यसक्रममा भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, सरोज कोइरालालगायतका सहिदहरुको बलिदानी यसको अचूक प्रमाण हो ।
वीपी कोइरालाले राजासँग घाँटी जोडेको मात्रै देख्नु तर, राजाविरुद्ध बमको तार जोडेको चाँहि नदेख्नु राजतन्त्र पक्षधरहरुको दृष्टिदोष होइन र ? जसले पञ्चायती व्यवस्थाका विरुद्ध जीवनभर लड्यो, जसले राजशाहीबाट जीवनभर दुःख पायो, यसैलाई यतिबेला राजावादी भन्दै गणतन्त्रविरुद्ध उभ्याउन खोज्दा वीपीमाथि कत्तिको न्याय होला ? वीपीबारे चिन्तन गर्नेहरुले जान्ने कुरा हो यो ।
वीपी कोइराला बाँचेका भए…….
वीपी कोइराला बाँचेका भए उनी अहिले गणतन्त्रवादी हुन्थे या राजासँग घाँटी जोडेरै बस्ने थिए ? राष्ट्रिय मेलमिलापको सन्दर्भमा उनले त्यतिबेला बोलेको विषय र राजाविरुद्ध बम पड्काउनसम्म तयार रहने उनको चलायमान व्यक्तित्व दुबैलाई विश्लेषण गरेपछि मात्रै अनुमान लगाउन सकिनेछ कि उनले बाँचेको भए के गर्ने थिए । जीवनभर उनको लगाव र निष्ठा कतातिर थियो, पूर्ण लोकतन्त्रतर्फ थियो या राजासँगको सौदाबाजीतर्फ केन्दि्रत थियो ? यसको विश्लेषण जरुरी छ ।
आफ्नै छोरामा समेत विभाजन
वीपी कोइरालाको मूल्यांकन गर्न गाह्रो पर्दै गएको छ । वीपीका नाममा विचारहरु विभाजित बन्दै गएका छन् । टाढा किन जाने ? वीपीका दुईभाइ छोरासमेत वैचारिकरुपले विभाजित भएका छन् । एकभाइ छोरा प्रकाश कोइराला संवैधानिक राजतन्त्रका पक्षपाती हुन् भने अर्का छोरा शशांक कोइराला गणतन्त्रवादी हुन् ।
वीपी कोइराला विभाजित बनेको यो भन्दा अर्को दृष्टान्त खोज्न जरुरी छैन । आखिर वीपी कोइराला कसका आदर्श हुन् ? संवैधानिक राजतन्त्रवादीका या गणतन्त्रवादीका ?
Source: http://www.onlinekhabar.com
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers