पर्यटकको रोजाइमा अर्घाखाँची

पहाडी जिल्लाहरूमध्ये ऐतिहासिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको अर्घाखाँचीमा यतिवेला आन्तरिक पर्यटक बिस्तारै बढ्दै छन् । यहाँका धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थलहरूले पर्यटक आकर्षण गर्न सफल भएका छन् । यातायातको सुविधा नहुँदा केही दशक अगाडिसम्म ऐतिहासिक स्थलहरू ओझेलमा परे पनि मोटरबाटोले घेरेपछि अर्घाखाँचीका धेरै स्थान रमणीय बन्दै गएका छन् । केही वर्षअगाडि नै यहाँका सबै गाविसमा मोटरबाटो पुगेको छ । मोटरबाटो अहिले टोल–टोलमा पुर्‍याउने होड नै छ । कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपा देउराली आन्तरिक पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गरेको छ । यहाँ दैनिक सयौँ पर्यटकहरू आउने गर्दछन् ।

जिल्लाको सदरमुकाम सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा पर्ने यस सुपा देउराली  मन्दिर लुम्बिनी अञ्चलकै महत्त्वपूर्ण मानिन्छ । यहाँ भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । यस मन्दिरमा दैनिक भीडभाड हुने गर्दछ । दैनिक भक्तजनको भीड लाग्ने हुँदा दान–दक्षिणा पनि राम्रो संकलन हुने गरेको छ । यसको आम्दानीबाट स्थानीय स्कुलका शिक्षकलाई पारिश्रमिकसमेत दिने गरिएको स्थानीय बताउँछन् । लुम्बिनी अञ्चलका सबै जिल्लाका अतिरिक्त पश्चिम नेपालका दाङसहित विभिन्न जिल्लाका बासिन्दा सुपा देउरालीको दर्शन गर्न आउँछन् ।

सुपापछिका महत्त्वपूर्ण स्थलहरूमा मठमन्दिरदेखि गुफाहरूसम्म पर्छन् । सुपादेउरालीबाट अगाडि सदरमुकाम सन्धिखर्कतर्फ जाँदा केही अगाडि नरपानी भन्ने स्थानमा पुगिन्छ । नरपानी अर्घाखाँचीको निकै महत्त्वपूर्ण स्थल मानिन्छ । अझ गर्मी मौसममा त यो स्थान निकै आनन्ददायक रहेको छ । नर्तना चल पर्वत रावण राजाको तपोभूमि नरपानीमा पर्यटक आकर्षण गर्न विभिन्न खालका संरचना बनाउन थालिएको छ । सुपादेउरालीमा दर्शन गर्न आउनेका लागि विश्रामस्थलका रूपमा नरपानीलाई विकास गर्न स्थानीय लागिपरेका छन् ।

हरियाली डाँडापाखा र चिसो हावापानी यहाँको विशेषता हो । चर्काे गर्मी समयमा न्यानो सिरक ओढ्नुपर्ने र न्यानो कपडा लगाउनुपर्ने भएकाले तराईका विभिन्न सहर–बजारबाट गर्मी छल्न यहाँ आउने गर्छन् । बुटवलबाट यहाँ गाडीमा तीन घन्टामा आइपुगिन्छ ।

पाणिनि तपोभूमि
अर्घाखाँचीका पश्चिम क्षेत्रमा सुपादेउराली, नरपानी, ठाडा दहजस्ता हेर्न तथा दर्शनीय, पर्यटकीय स्थल छन् भने पूर्वी क्षेत्रमा शैक्षिक, ऐतिहासिक महत्त्वका स्थलसमेत रहेका छन् । झन्डै २३ सय वर्ष पुरानो इतिहास बोकेको स्थल हो पाणिनि तपोभूमि । अर्घाखाँची जिल्लाको पणेना र पोखराथोक गाविसको संगममा पर्ने पाणिनि तपोभूमि लामो इतिहास बोकेको ऐतिहासिक स्थल हो ।

यहाँको विकास र प्रचार–प्रसार गर्न सक्ने हो भने पणेना, पोखराथोकको मात्र नभएर सिंगो अञ्चलको पर्यटन विकासमा ठूलो भूमिका निर्वाह गर्न सक्नेमा सायद कसैको दुई मत नहोला । बुद्धभूमि लुम्बिनी आउने पर्यटकलाई यस स्थानमा आकर्षण गर्न सकिए अञ्चलको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।

पाकिस्तानको सालातुर स्थानमा आई भारतको तक्षशिला विश्वविद्यालयमा अध्ययन गरेका पाणिनि ऋषि थप अध्ययन र अनुसन्धानका क्रममा नेपालको कृष्ण गण्डकी (काली गण्डकी)को तीर हुँदै शान्त र मनोरम सो स्थानमा आई तपस्या गरेको र लामो तपस्याबाट सिद्ध भएपश्चात् १४ सूत्रीय (अष्टाध्यायी) व्याकरणको वरदान प्राप्त गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

पाल्पा सदरमुकाम तानसेनबाट हार्थोक, कुसुमखोला, बतासे, अमलावास छहरा, तिनगिरे हुँदै करिब ३३ किलोमिटर पश्चिम, अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट अड्गुरी, पाली, दुर्गाफाँट, खिदिम, पोखराथोक हुँदै अन्दाजी ३३ किलोमिटर पूर्व र रूपन्देहीको सालझन्डी रामापुरबाट करिब २६ मिटर उत्तरमा पर्ने पाणिनि तपोभूमिको प्रचार–प्रसार गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य र धार्मिक पर्यटनको समेत विकास हन्छ भन्नेमा त्यहाँका स्थानीय बासिन्दासमेत ढुक्क छन् ।

अन्दाजी समुद्री सतहबाट सात हजार पाँच सय फिट अग्लो स्थानमा रहेको पाणिनिबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतको हिमशृंखला देख्न पाइन्छ भने नेपालका विभिन्न पहाड, तराईको समथर भूभाग र भारतका विभिन्न स्थानसमेत देख्न सकिन्छ । समुद्री सतहबाट यति धेरै अग्लो स्थानमा अवस्थित भए पनि पहाडको टुप्पोमा करिब पाँच सय रोपनी समथर बसेको भूभाग छ । सो मैदानको बीचमा ठूलो दह छ । यो स्थान ऐतिहासिक, पुरातात्त्विक तथा प्राकृतिक रूपले महत्त्वपूर्ण भए तापनि प्रचार–प्रसारकै अभावमा ओझेलमा परेको पाणिनि तपोभूमि प्रचार संयोजक विष्णु पोखरेलको ठहर छ ।

दुर्वासेश्वर गुफा
अर्घाखाँचीको पूर्वी क्षेत्रमै रहेको दुर्वासेश्वर गुफा पर्यटकीय हिसाबले अर्को महत्त्वपूर्ण मानिन्छ । दुर्गाफाँटको किनारमा रहेको यस गुफालाई साततले गुफा पनि भनिन्छ । पहिला यहाँ सातवटा तला भएकाले यस गुफाको नाम साततले रहेको पनि भनिन्छ । १९९० सालको भूकम्पमा धक्का पुगेका कारण त्यसयता माथिका तलाहरूमा जान सकिने अवस्था नरहेको बुढापाकाहरूको भनाइ छ । यस गुफामा रहेको ज्योतिलिंग र मुक्तिनाथमा रहेको ज्योतिलिंग एकैप्रकारका रहेको जानाकारहरू बताउँछन् । स्कन्द पुराण र पद्म पुराणमा यस गुफाबारे उल्लेख भएको स्वामी, कृष्णानन्द परमहंसको भनाइ छ ।

दुर्वासा ऋषिले ४८ वर्ष यस गुफामा तपस्या गरेकाले यसको महत्त्व झन् बढाएको बताइन्छ । एबिसिडी तथा कखगघ अक्षर यिनै दुर्वासा ऋषिले बनाएको दाबी स्वामी, कृष्णानन्दको छ ।

नरपानी–कालीकाठी–पाणिनि पदमार्ग
अर्घाखाँचीमा नेपालकै ऐतिहासिक पदमार्ग निर्माणको काम अगाडि बढाइएको छ । नरपानी–कालीकाठी–पाणिनि पर्यटकीय पदमार्ग निर्माणपछि पर्यटकीय विकासमा फड्को मार्ने विश्वास जिल्लावासीले लिएका छन् । अर्घाखाँची पर्यटकीय पूर्वाधार विकास समितिका अध्यक्ष लेखबहादुर टण्डन यो पदमार्ग १५ किलोमिटरको हुने बताउँछन् । जिल्लाको पूर्व–पश्चिम पर्ने गरी अग्लो डाँडैडाँड बनाउन लागिएको पदमार्ग पर्यटकका लागि आनन्ददायी यात्रा बन्न सक्ने विश्वास लिइएको छ । हुन त यस पदमार्ग निर्माणका लागि सरकारी स्तरबाट गतवर्ष नै ६० लाख बजेट छुट्टिएर ठेक्कासमेत लगाइएको थियो । तर, ठेकेदारले राम्रो काम गर्ने नदेखिएको भन्दै विरोध गरिएपछि काम पनि रोकिएको थियो भने बजेट पनि फ्रिज भएको थियो । यस वर्ष २० लाख रुपैयाँ बनेट छुट्टिएको छ । यही पदमार्गमा पर्ने कालिकाठी स्थानको संरक्षणका लागि भन्दै पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँसमेत प्राप्त भएको टण्डनले बताए । त्यस रकमबाट ऐतिहासिकता झल्कने गरी मन्दिर बनाउने सोच बनाएको उनले बताए । एक लाख रुपैयाँ संस्कृति फाँटबाट समेत छुट्याइएको भन्दै टण्डनले यस स्थानको विकासमा लागिपर्ने बताए । पहिला कालाकाठा भनिने यस स्थानको ऐतिहासिक महत्त्व धेरै रहेको जानाकारहरू बताउँछन् ।

 विष्णु घिमिरे
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers